नवलपुर ,असोज २७ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताउनुभयो । सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७७र७८ को साउनयता निकुञ्जमा नौ वटा गैँडाको मृत्यु भइसकेको छ । असोज महिनामा मात्रै छ वटा गैँडा मृत भेटिएका छन् । गैँडाको मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताउनुभयो । साभार: नवलपुर एफ.एम
विनयीत्रिवेणीमा गैंडा मृत अवस्थामा फेला