कञ्चनपुर, १ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तरगत पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्वारा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्ने खबर आयाे । तर उक्त अबर झुटो सावित भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफू अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् ।सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो, ‘बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् ।’
घटना केरकारका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झुटो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् । स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
झुटको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । ‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् ।
बालिकाका प्रेमीमाथि पनि थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने। अनुसन्धानका लागि प्रेमी पनि प्रहरीको नियन्त्रणमा नै छन् ।