गैँडाकोट, फागुन २० । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको राजनीतिका दोषी केपी ओली भएको भन्दै उहाँसग कुनैपनि हालतमा सहकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राजनीतिका अभियुक्त ओली बाहेकका नेताहरुसँग सहकार्य हुन सक्ने भन्दै काँग्रेस अहिले प्रतिपक्षमै बस्नुपर्नेमा उहाँको जोड थियो । राजनीतिक गाँठो फुकाउने भूमिका काँग्रेसमा आएपनि सरकारमा भने जान नहुने भन्दै थप निर्णय केन्द्रीय समितिको बैठकबाट हुनुपर्ने बताउनुभयो ।
आज बस्ने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक आह्वान गर्न प्रस्ताव लैजाने र केन्द्रीय समितिले जे भन्छ सोही अनुसारको निर्णय गर्नुपर्ने पौडेलले बताउनुभयो । आफू पदको लोभि कहिल्यै नभएको भन्दै अहिले पदको लागि नभई संविधान र प्रणालीको रक्षाका लागि आन्दोलन भएको बताउनुभयो ।
साथै बरिष्ठ नेता पौडेलले निर्वाचन आयोगको भूमिकाप्रति टिप्पणी गर्दै आयोग कर्तव्यच्युत भएको आरोप लगाउनुभयो ।
ऐन नियम कानुनमा जे छ सोही अनुसार निर्वाचन आयोगले निर्णय गर्नुपर्नेमा नेकपा दल विभाजमा आयोग कर्तव्य च्युत भएको र व्यक्ति हेरेको बताउनुभयो । आयोगको उक्त भूमिकाले नेपालको इतिहासमा पहिलो पटक संसदमै नेकपा फुट्ने उहाँको भनाई थियो । नेता पौडेलले संवैधानिक नियुक्ति पुरा असवैधानिक भएको बताउनुभयो । यी सबै खारेज हुनुपर्ने भन्दै संविधान विपरीत अध्यादेश ल्याएर दुई जना बसेर गरेको नियुक्ति कुनैपनि हालतमा सवैधानिक नभएको भन्दै खारेज हुनुपर्नेमा उहाँको तर्क थियो ।
साथै पौडेलले काँग्रेसबाट जो प्रधानमन्त्री भएपनि त्यसले पार्टीको महाधिवेशनमा कुनै असर नगर्ने भन्दै सभापति को उठ्ने भन्ने विषयमा पर्याप्त छलफल हुनै वाँकी रहेको बताउनुभयो ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।