खेलका क्रममा घाइते भएकी एपिएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गर्ने भएको छ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार साम्बाको उपचारका लागि एन्फा हरेक कोणबाट सक्रिय रहनेछ।
शेर्पाले साम्बा घाइते हुँदा राष्ट्रिय टिमलाई क्षति पुगेको बताउँदै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
एन्फाको पहलमा राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर र मिडफिल्डर विक्रम लामाको अहिले कतारमा उपचार भइरहेको छ।
दायाँ घुडाँमा चोट बोकेकी साम्बाले महिला राष्ट्रिय लिगको बाँकी खेल गुमाउनुका साथै लामो समय मैदान बाहिर रहनु पर्ने भएको छ।
साम्बा सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्।
खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्।
मंगलबार उपलब्ध भएको एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको छ। जसका कारण उनको शल्यक्रिया गर्नु पर्ने हुन्छ भने एक वर्ष मैदान बाहिर रहनु पर्ने सम्भावना छ।
जारी लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ।साभार :सेतोपाटी