काठमाडौ ,माघ१९। अनलाइन सपिङका लागि ई-कमर्स कम्पनी मुकुण्डोडटकम सञ्चालनमा आएको छ । किनमेल संस्कृतिलाई बढावा दिन अनलाइन सपिङका रूपमा सोमबारदेखि मुकुन्डो सञ्चालनमा ल्याएको एमबीएसवाईएस ग्रुपले जनाएको छ ।
अमेरिका र नेपालमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली युवाहरूले सुरु गरेको यो कम्पनी एमबीएसवाईएस ग्रुपको पहिलो भेन्चर भएको दाबी गरिएको छ । मुकुण्डोले ग्राहकलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउने कम्पनीका बिजनेस तथा मार्केटिङ निर्देशक यदुनन्दन भट्टराईले बताए । मुकुण्डोबाट सामान अर्डर गर्दा हाललाई काठमाडौं उपत्यकाका ग्राहकले कुनै पनि डेलिभरी चार्ज तिर्नु नपर्ने भट्टराईले बताए । एक वर्षभित्र मुकुण्डको सेवा नेपालभर बिस्तार गर्ने दाबीसमेत कम्पनीले गरेको छ । मुकुण्डोडटकमबाट खरिद गरेको सामानको भुक्तानी नेपाल तथा विदेशका बैंकले जारी गरेका मास्टर र भिसा कार्डबाट समेत गर्न सकिने उल्लेख गरिएको छ । ई-सेवा, आईएमई पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आईपीएसबाट समेत सामानको अनलाइन भुक्तानी गर्न सकिनेछ । कम्पनीले सकेसम्म चाँडो डेलिभरी, उपत्यकाभित्र फ्री-डेलिभरी, इजी रिटर्न, क्यास अन डेलिभरीका साथै रिवार्ड र लोयल्टी प्वाइन्टजस्ता सुविधाहरूसमेत रहेको जनाएको छ ।
कम्पनीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । एक वर्षभित्रमा देशभर सामान डेलिभरी गर्ने उद्देश्य राखेको मुकुण्डोमा ग्राहकले सामान खरिद गर्दा त्यसबाट केही रकम गरिब तथा असहाय बालबालिकाको शिक्षामा खर्चिनेसमेत प्रतिवद्धता व्यक्त गरेको छ ।
एमबीएसवाईएस ग्रुपको अनलाइन शपिङ 'मुकुन्डो' संचालनमा ,देशभर निशुल्क डेलिभरी दिने लक्ष्य