पर्वत: पर्वतको फलेवास नगरपालिकाले सबै विद्यालयका कक्षा कोठामा स्यानिटरी प्याडको व्यवस्थापन गरेको छ । विद्यालयमै रहेका बेला महिनावारी भएर कक्षा छाडेर विद्यार्थीलाई घर जान नपरोस् र उनीहरुको सिकाइ र पढाइले निरन्तरता पाओस् भन्ने उद्देश्यले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन गरिएको फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।
कोभिड–१९ को सङ्क्रमणपछि खुलेका सबै विद्यालयमा पुगेर अध्ययनरत कक्षा ६ देखि स्नातक तहसम्मका छात्रालई वर्षभरि पुग्नेगरी प्याड वितरण गर्न थालिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही वडामा रहेका विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकी वडाका विद्यालयमा पनि आफै विद्यालय पुगेर शिक्षकलाई हस्तान्तरण गर्ने अधिकारीले बताउनुभयो ।
फलेवास नगरपालिकामा माध्यमिक र आधारभूत विद्यालय कक्षा ८ सम्म गरी ३० भन्दा बढी विद्यालय रहेका छन् । कक्षा ६ देखि स्नातक तहसम्म सञ्चालन हुने क्याम्पसमासमेत स्यानिटरी प्याड उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको छ । यस वर्ष रु १५ लाख बराबरका स्यानिटरी प्याड खरिद गरी सबै विद्यालयमा उपलब्ध गराउने कार्यक्रम रहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।
थोरै मूल्यमा पाइने भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीले खरिद गरेर प्रयोग गर्नसक्ने अवस्था छैन । घरगाउँमै पाइने फोहर कपडा प्रयोग गर्दा स्वास्थ्यमासमेत समस्या आउने भएपछि नगरपालिकाले यो नमूना कार्य अघि बढाएको नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।