सन् २०१९ को डिसेम्बर को अन्त्यतिर चिनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छोटो समयमानै विश्वव्यापी रूपमा फैलियो जसबाट हाम्रो नेपाल पनि अछुतो रहन सकेन । यही महामारी लाई कम गर्न नेपाल सरकारले २०७६ चैत ११ देखि देशव्यापी बन्दाबन्दीको बाध्यात्मक नीति लागु गरेको हामी सबैलाई सर्वविदितै छ । यही कारण मुलुकको आर्थिक, सामाजिक र शैक्षिक लगायतका क्षेत्रमा समेत धेरै नकारात्मक असरहरू परेको छ । विश्वमै कोभिड–१९ बाट जोगिन चाहिने औषधी (भ्याक्सिन) तत्काल बन्न सक्ने स्थिति पनि हाललाई छैन । यही वर्तमान परिस्थितिमा अझ थप केही समय हामीले अनिश्चितताकाबीच आफ्नो जीवन अगाडि बढाउनुपर्ने देखिएको छ । कोरोना सँग डराएर होइन की यससँग लडेर सामना गरेर अगाडि बढ्नुको विकल्प अब हामी सँग छैन । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धी अधिकारको व्यवस्था गरिएको छ । जसमा बालबालिकालाई आधारभूत शिक्षामा पहुँच अनि माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क व्यवस्था गरेको छ । यसले संकटापन्न अवस्थामा पनि बालबालिकाको सिकाइ रोकिनु हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दछ । यो पक्षलाई समेत ध्यानमा राखी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायबाट वैकल्पिक प्रणालीबाट सिकाइ अभियान सुरु गरिएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ समेत जारी गरी सिकाइ सहजीकरणका लागि औपचारिक मान्यता समेत प्रदान गरी बाटो खुला गरिदिएको छ । यसअघि वि.सं. २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पबाट सिर्जित अवस्थामा पनि अति प्रभावित पहाडी जिल्लाहरूमा ‘भर्चुअल’ माध्ययमबाट र संविधान जारी हुँदाका बखतमा भएको अघोषित नाकाबन्दीको कठिन परिस्थितमा समेत तराई, मधेसमा टेलिभिजन र एफएम रेडियोबाट बालबालिकालाई सिकाउने विभिन्न प्रयासहरु गरिएका थिए । अहिले कोभिड–१९ का कारण सिर्जित परिस्थितिमा पनि शिक्षक–विद्यार्थीबीच प्रत्यक्ष कक्षाकोठामा पठनपाठन गर्न सकिने अवस्था नभएको कारणले गर्दापनि छपाइ सामग्री, टेलिभिजन, रेडियो, केबल नेटवर्क, एफ.एम. रेडियो, अनलाइन अफलाइनजस्ता बहु प्रविधिहरु प्रयोग गरेर बालबालिकाको सिकाइ अगाडि बढाउने प्रयास गरिएको छ । यो महामारीले हामीलाई चुनौती सँगसँगै हाम्रा शिक्षण सिकाइका परम्परागत विधि र प्रविधिमा समेत परिवर्तनका लागि एउटा सुनौलो अवसर समेत प्रदान गरेको छ । यतिखेर हामीले मूलतः तीनवटा अवसरलाई आत्मसात गर्न सक्नुपर्छ । पहिलो, विद्यालयमा गएर प्रत्यक्ष फेस टु फेस पढ्न नपाएको औपचारिक शिक्षा लाई निरन्तरता दिनका लागि आफ्नो घरलाई नै सिकाइकेन्द्र वा शिक्षालयको रूपमा विकास गरि सिकाइ प्रकृया अगाडि बढाउनु । जसले स्वःअध्ययन, चिन्तन–मनन, खोज र अनुसन्धान गर्दै विभिन्न मुद्रित तथा प्रविधियुक्त सामग्रीको अधिकतम उपयोग गरेर स्वःसिकाइ केन्द्रित ‘होम स्कुलिङ’ लाई व्यापक रूपमा उपयोगमा ल्याउन सकिन्छ । जसमा शिक्षकहरुले विद्यार्थीहरुलाई बढि भन्दा बढि सहजीकरण गर्नु पर्दछ । दोस्रो, औपचारिक शिक्षा भन्दा बाहिरको शिक्षा (जस्तैः अनौपचारिक शिक्षा, वैकल्पिक शिक्षा, खुला तथा दूर सिकाइ शिक्षा) पद्धतिलाई थप सुदृढीकरण गरी सिकाइलाई निरन्तर अगाडि बढाउने । यसमा बढि भन्दा बढि नयाँ नयाँ प्रविधि र पद्धतिको विकास गरि धेरै भन्दा धेरै सिकाइ सामग्रीहरू जस्तैः श्रव्य, दृष्य, श्रव्य दृष्य र मुद्रित जस्ता सामग्रीहरू निर्माण गर्नु पर्दछ । सोहि बमोजिम सिकाइमा सहजीकरण गर्नु पर्दछ । यस्ता पद्धतिलाई भविष्यमा औपचारिक शिक्षाको पूरक प्रणालीका रूपमा समेत विकास गर्न सकिन्छ । तेस्रो, शिक्षण सिकाइका क्षेत्रमा विभिन्न विधि र प्रविधिको तिव्र विकास भइरहेको यस २१औं शताब्दिमा शिक्षक र विद्यार्थी दुवै पक्षले सूचना तथा सञ्चार प्रविधि (ICT) लाई जीवन पद्धतिमा अंगीकार गरेर आफ्नो क्षमता विकास गर्न सक्नुपर्दछ । जसले सिकाइमा सहजीकरण गर्नाका साथसाथै गुणस्तरिय र प्रभावकारी सिकाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । अन्त्यमा, विभिन्न विधि र प्रविधिमा विद्यार्थीको पहुँचलाई ध्यानमा राखी विशेष परिस्थितिमा पनि अनुकूल हुन सक्ने गरी भिन्नभिन्न प्रकारका पद्धतिहरु बाट सिकाइकेन्द्रित कार्यक्रम विकास गरिनु पर्दछ र समयानुकुल यसको विकास र विस्तार गरिँदै लैजानु पर्दछ । यसकालागि प्रविधिको पहुँच नभएका, प्रविधिमा पहुँचको कमि भएका, प्रविधिको सुविधा थोरैमात्र प्राप्त गर्ने वर्ग र फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत सम्बोधन गर्ने गरी रेडियो, टेलिभिजन, अनलाइन शिक्षा, अफलाइन शिक्षा, शिक्षण सिकाइका लागि तयार गरिएका मुद्रित सामग्रीलगायत विभिन्न माध्यमबाट सिकाइको निरन्तरता सुनिश्चित गर्न सकियो भने मात्र वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ । त्यस्तै स्थानीय तहको संयोजनमा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक अग्रसरताबाट मात्र यो अभियानले सफलता प्राप्त गर्न सक्दछ । वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन घरलाई नै सिकाइकेन्द्र वा शिक्षालय बनाएर, टोलटोलमा सिकाइ केन्द्र विस्तार गरेर, सिकाइका विभिन्न विधिहरुमध्ये पहुँचताको आधारमा उपयुक्त विभिन्न विधिमध्ये एउटा विधि छान्ने अवसर समेत प्रदान गर्न सकिन्छ । अभिभावकको सहयोगमा विद्यार्थीहरुले दैनिक तालिका निर्माण गरेर घरभित्रै शैक्षिक गतिविधि सुचारु गर्न पनि सकिन्छ । त्यस्तै दैनिक तालिकामा उठ्ने, सुत्ने, खाने समय मिलाएर केही समय पठन–पाठनलाई र केही समय व्यायाम, योग, स्वास्थ्य मनोरञ्जन र सृजनात्मक कार्यमा लगाउन सकियो भनेपनि सिकाइका साथसाथै मनोवैज्ञानिक व्यवस्थापन समेत गर्न सकिन्छ । विद्यालय र शिक्षकले घरघरमा रहेका विद्यार्थीको गतिविधिलाई सहजीकरण गर्न समन्वयकारी भूमिका खेल्नुपर्दछ । निर्धारण गरिएका सिकाइ केन्द्रमा रहेका बालबालिकाहरुको स्वास्थ्यमा गम्भिर चासो दिनुपर्दछ । स्वास्थ्यका सबै मापदण्डहरु अपनाउनु पर्दछ । यो अभियानको सुरुआत भएसँगै सबै शिक्षकहरु विद्यालयको सम्पर्कमा नरहेको भएपनि तुरुन्त सम्पर्कमा जानुपर्दछ । यदि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको भए प्रअको समन्वयमा यथाशीघ्र व्यवस्थापन गर्नुका साथसाथै विद्यार्थी अभिलेखीकरण, सिकाइमा सहजीकरण, सुरक्षात्मक परामर्शहरु र सुरक्षाका सम्पूर्ण मापदण्डहरू अपनाइ बैकल्पिक सिकाइलाई अगाडि बढाइयो भने पक्कैपनि सिकाइ प्रभावकारी हुन्छ र यसको औचित्य पनि बढ्दछ ।
लेखक: तेज चन्द्र खनाल(शिक्षा अधिकृत ,हुप्सेकोट गाउपालिका)