वसन्त न्यौपाने ,जेठ १५,चोरमारा ,नवलपुर।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-७ ,चोरमारामा महिलाहरुको लागि नेतृत्व विकास एवं उद्घोषण कला सिप विकास कार्यक्रम सुरु गरिएको छ । रेशम फिरिरी नेपालको आयोजना तथा गण्डकी स्किल लर्निङ एकेडेमीको सहजीकरणमा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम आज जेठ १५ गतेबाट सुरु गरिएको हो ।
तालिम संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका प्रतिनिधिमुलक महिलाहरूलाई लक्षित गरी आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता रेशम फिरिरी नेपालका अध्यक्ष दीपक पंगेनीले गर्नुभयो भने तालिमको उद्घाटन सत्रको प्रमुख आतिथ्यता मध्यबिन्दु–७ का वडा अध्यक्ष कर्णबहादुर मल्लले गर्नुभएको थियो। कार्यक्रममा करिब ३२ जना महिला सहभागी रहेका थिए।
तालिमको उद्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष कर्ण बहादुर मल्लले महिलाहरूलाई नेतृत्वको भूमिकामा अगाडि ल्याउन यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “भाषण कला र उद्घोषण जस्ता सीपले महिलाहरूमा आत्मविश्वासको विकास गर्छ, जसले सामाजिक तथा सार्वजनिक जीवनमा उनीहरूलाई अघि बढ्न मद्दत पुर्याउँछ।”
कार्यक्रमका अध्यक्ष दीपक पंगेनीले रेशम फिरिरी नेपालले महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै यस्ता तालिमहरूको निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी चाहन्छौं, महिलाहरू केवल श्रोता नभई प्रभावकारी वक्ता बन्न सकून्। आजको तालिम त्यही अभियानको एक भाग हो।”कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण गण्डकी स्किल लर्निङ एकेडेमीका किरण भुर्तेलले गरेका थिए।