काठमाडौ ।नेपाली चलचित्र अभिमन्युको छायांकन सम्पन्न भएको छ । २५ दिन र रात गरेर छायांकन सम्पन्न भएको फिल्मका निर्माता विनोद पौडेलले जानकारी दिएका छन । हिजो बिहीबार राति चलचित्रको अन्तिम दृश्य छायांकन गरेपछी सम्पन्न भएको फिल्म भदौ २७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने पौडेलले बताए ।
पुर्ण बहादुरको सारङ्गी जस्तो सर्वाधिक सफल चलचित्र निर्माण गरेर इतिहास कायम गरेका निर्माता पौडेलले निर्माण गर्न लागेको चलचित्र ‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल र किरण श्रेष्ठजस्ता चर्चित कलाकारहरूले प्रमुख भूमिकामा रहेका छन् ।
चलचित्रमा जोडिएका सबैको साथ र सहकार्यले छायांकन सोचेभन्दा छिटो सम्पन्न भएको निर्माता पौडेलले बताए । उनका अनुसार अब पोस्ट प्रोडक्सनमा फिल्मलाई लैजाने र प्रचारप्रसारका सामग्रीहरू पनि चाडैं सार्वजनीक गर्न थाल्ने योजना रहेको छ । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले निर्माण गरेको यो फिल्मलाई सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण गरिदै छ ।
पहिलो पटक निर्देशनमा हात हालेका शुसान्त गौतमको निर्देशनमा बन्न लागेको चलचित्रमा मुकेश खनालको लेखन र मदन थापाको क्रिएटिभ निर्देशन र शरद महतोको छायांकन रहेको छ ।थापाले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरिसकेका छन् । विनोद पौडेल र गुञ्जन गिरी मुख्य निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताको रूपमा जोडिएका छन् । ‘अभिमन्यु’ विश्वभर एकसाथ नेपाली र हिन्दी भाषामा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।