चैत-०३, पोखरा । ३० बर्षे सेवा हदका कारण प्रहरी सेवाबाट अनिवार्य अवकास हुन लाग्नु भएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावललाई आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । विदाई कार्यक्रममा गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्का र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनिले बिदाई भई जानलाग्नु भएका प्रहरी नायव महानिरीक्षक रावल र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष निला थापालाई मायाको चिनो प्रदान गरी बिदाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
सोहि अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले बिगत ३० बर्ष देखि अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावललाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमकै अवसरमा विदाई मन्तव्य राख्दै अवकास हुन लाग्नुभएका प्रहरी नायव महानिरीक्षक रावलले आफुले नेपाल प्रहरीको सदस्य भई ३० बर्ष सम्म निरन्तर राष्ट्र तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमूखहरु, पोखरा उपत्यका स्थित प्रहरी कार्यलयका प्रहरी अधिकृतहरु तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमलाई प्रहरी निरीक्षक भानु शर्माले सहजीकरण गर्नुभएको थियो ।