भारतमा कोरोना सङ्क्रमण बाट एकैदिन १ हजार ६ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १ हजार ६ सय २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै पछिल्लो २४ घण्टामै दुई लाख ७५ हजार तीन सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा अहिले सम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको मृत्यु भइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्ट सहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ । खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिस लाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।
अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको बीबीसीले जनाएको छ । महामारीको अवस्था भयावहमा पुगेको भए पनि रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै विपक्षी दल लगायत नागरिकहरुले सरकारको आलोचना गरेका छन् ।
भारतमा अहिले पनि चुनावी र्याली, महाकुम्भ जस्ता मेला, बजार लगायतका ठाउँमा स्वास्थ्य मापदण्डको खुलेआम उल्लङ्घन भइरहेको बीबीसीले जनाएको छ ।