रुपन्देही । ओमसतिया गाउँपालिकामा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले वार्ड नं १ को मगर भवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जना महिलाले रक्तदान गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले बताइन् ।
हरेक वर्ष मार्च ८ मा विभिन्न कार्यक्रम गर्दै आएको र खासै प्रभावकारी नभएकोले यो वर्ष महिलाले मात्रै रक्तदान गर्ने योजना अनुसार पालिकामा रहेका महिला सहकारीसँग समन्वय गरि रक्तदान कार्यक्रम गरेको कार्यपालिका सदस्य चुमकला बस्यालले बताइन् ।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष हिरा केवट राहुलले रक्तदान असाध्यै महत्त्वपूर्ण कार्य भएको बताए । रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर यस्तो अनुकरणीय कार्य गरेकोमा महिला कार्यपालिका सदस्य र महिला कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, कार्यपालिका सदस्य चुमकला बस्याल, कार्यपालिका सदस्य गंगा सुनार, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म के सि लगायतले बोलेका थिए ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष सुन्दरमती कुमारी हरिजनको अध्यक्षता, अधिकृत छैठौ रुपा थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकि प्रमुख निर्मला पाण्डेले गरेकी थिइन ।