भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आज सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । ओमसतिया-५ गौरीस्थित ओमसतियामाई श्रीरामजानकी मन्दिरमा लाग्ने सिलौटिया मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
प्राचीन कालदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्रीरामजानकी मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला यस क्षेत्रमा विशेष किसिमले मनाउने हुँदा उक्त दिन गाउँपालिकाभित्रका स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालयहरुलाई सार्वजनिक बिदा रहेको गाउँपालिकाका उपाध्यक्ष सुन्दरतमति कुमारी हरिजनले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ ।
करिब साढे तीन सय वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्रीरामजानकी मन्दिरको अद्भुत शक्ति र आफ्नै पहिचान रहेको हुँदा सदियौँ देखि कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा देशविदेशबाट लाखौं भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । साथै नजिकै रहेको रोहिणी खोलामा स्नान गरी सतियामाईसँग मागेको मनोकामना पूर्ण हुने विश्वास समेत रहेको छ ।