बिहिबार, भदौ ४, २०७७ काठमाडौं। नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ। खानी तथा भूगर्भ विभागले पाँच टन कच्चा पदार्थ चीनमा पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नजिता सकारात्मक आएको खानी तथा भूगर्भ विभागका उप-महानिर्देशक जयराज घिमिरेले बताए। विभागले चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’मा परीक्षण गराएको थियो। अब धौवादीमा औद्योगिक रूपमा फलामको उत्खनन् गर्न सकिने प्रमाणित भएको छ। उक्त कम्पनीले केही दिनअघि परीक्षण नतिजाको संक्षिप्त विवरण विभागमा पठाएको छ। “धौवादी फलाम खानीबाट पठाएको नमूनाको ‘इन्डस्ट्रियल स्केल’को परीक्षण सफल भएको भन्ने भिडिओ रिपोर्ट प्राप्त भएको छ। केही हप्तामा विस्तृत प्रतिवेदन प्राप्त हुन्छ”, घिमिरेले भने। अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिक टन फलाम रहेको पत्ता लागेको छ। उक्त फलाम खानीको परिमाण थप यकिन गर्नका लागि २०० मिटर गहिराईसम्मको अध्ययनका लागि धौवादी फलाम कम्पनीले टेण्डर आह्वान गरेको थियो। नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका-५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो। धौवादीमा १० किलोमिटर लामो फलाम खानी पत्ता लागेको थियो। खानीको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा सकारात्मक नतिजा आएपछि विभागले औद्योगिक उत्पादन सम्भाव्यता परीक्षणको लागि नमूना चीन पठाएको थियो। धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको छ। त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ। पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पुर्याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुन्छ। अहिले चीनमा पठाइएको नमूनामा ३५ प्रतिशत धातुलाई अपग्रेड गरेर शतप्रतिशत पुर्याउन सकिन्छ कि सकिंदैन भन्ने परीक्षण गरिएको थियो। जुन सफल भएको घिमिरेले बताए। “भारतमा ५० भन्दा बढी ग्रेडको धातु अपग्रेड हुने गरेको छ। चीनमा ३० प्रतिशत धातु पनि अपग्रेड गर्ने गरिएको छ। यसरी अपग्रेड गरिएको सबै फलामको गुणस्तर उस्तै हुन्छ”, उनले भने। चीनमा पनि कोरोना महामारीको प्रभावका कारण प्रयोगशाला लामो समय बन्द भएको कारण तोकिएको समयभन्दा चार महीना ढीलो गरी परीक्षणको नतिजा आएको घिमिरेले बताए।
धौवादी फलाम खानीको औद्योगिक उत्पादन परीक्षण सफल