रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिन अझै समय लाग्ने भएको छ । कोरोना संक्रमणका कारण हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत काम विदेशी प्राविधिकले मात्र गर्ने भएकाले निर्माणको काम प्रभावित भएको विमानस्थल आयोजनाले जनाएको छ ।
कोरोना संक्रमणका कारण विदेशी कामदार नेपाल आउन नसक्दा अहिले विमानस्थलको कामले गति लिन सकेको छैन । ३५ जना चिनियाँ कामदार आउने टुंगो नहुँदा विमानस्थल निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
नेपालबाट कामदार ल्याउन अनुमति भए पनि चीनले स्वीकृति नदिँदा समस्या भइरहेको उनले बताए । चीनबाट आउने ३५ जनाको टोलीले रनवे र ट्याक्सीवेको लाइट जडान गर्नेछ । त्यस्तै, टोलीले टर्मिनलभित्रको एसी जडान र ट्रमिनल भवनबाहेकको अन्य काम (एसी कन्ट्रोल, एक्सरे मेसिन, सीसीटीभी) गर्नेछ ।
‘चीनबाट यहाँ आउन अहिले उनीहरू पनि हच्चिएका छन् । नेपालमा संक्रमण दर बढेको खबर पाएपछि उनीहरू नेपाल आउन केही डराएको अवस्था छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘हामीले संयोजन गर्ने काम गरिरहेका छौँ । अहिलेसम्म आउने टुंगो लागेको छैन ।’
हाल विमानस्थलमा विद्युत्, फिनिसिङ र उपकरण जडानको काम भने भइरहेको छ । त्यसबाहेक पेरिमिटर सडक निर्माणको काम पनि २५ जना चिनियाँ कामदारसहित नेपाल र भारतका २ सय ६५ जनाबाट भइरहेको छ ।
यस्तै, आईसीबी जिरो टु अन्तर्गतका काम गर्नका लागि पनि थाइल्याण्ड, अमेरिका र अट्रियाकाबाट कामदार आउन नसक्दा काम प्रभावित भएको छ । आईसीबी जिरो टु का प्राजेक्ट म्यानेजर प्रविन न्यौपानले आइल्याण्ड, अमेरिका र अष्ट्रियाबाट ३० जना कामदार आउन बाँकी रहेको बताए । आईसीबी जिरो टु ले कन्ट्रोल टावर, सूचना र सञ्जार कनेक्सनको कामका साथै मौसम पूर्वानुमान गर्ने उपकरणको काम गर्नेछ । विदेशी कामदार आउने टुंगो अहिलेसम्म नभएकाले नेपालीबाट फाउण्डेसनको काम मात्र भएको उनले बताए ।
‘हामीले कामदार ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ । उहाँहरू आउन मात्र ढिला हो । आउना साथ बढिमा तीन महिनामा हाम्रो पूरा काम सकिन्छ,’ उनले भने । विमानस्थल आयोजनाका अनुसार लकडाउनकै अवधिमा धेरै उपकरण आएको भए पनि अहिले केही कागजपत्र मिलाउन बाँकी रहेकाले सानो परिणामका उपकरण मात्र आउन बाँकी रहेको छ । लामो समयसम्म नाकामा उपकरण रोकिँदा कागजपत्र मिलाउनुपर्ने भएकाले केही ढिला भएको र ३० अक्टोबरसम्म सबै सामान आउने विमानस्थल प्रमुख अधिकारीले बताए ।
लकडाउनका कारण बाटोमा रोकिएका एसीका ३० कन्टेनरमध्ये दुई वटा मात्र नेपाल आउन बाँकी रहेको र लाईटका केवल, टान्सफर्मर आउने क्रममा रहेको उनले बताए । चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले ३१ डिसेम्बर सन् २०१४ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का पाएको थियो । विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । त्यस्तै, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव ५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।
सो कम्पनीले आउदो डिसेम्बर अन्तिममा काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । तर, कोरोना संक्रमण र लकडाउनका कारण कामले तिव्रता पाउन नसकेकाले डिसेम्बर अन्तिमसम्ममा काम सम्पन्न नहुने आशंका गरिएको छ । यस्तोमा निर्माणको म्याद पुनः थपिने आयोजनाको भनाई छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको विमानस्थल कुल ८ सय १० विगाहा क्षेत्रफलमा फैलिएको छ । त्यसबाहेक विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गर्ने गरी कामअगाडि बढाइएको छ । एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने बताइएको छ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रूपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनी गरिएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । यो विमानस्थल १ माघ २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिल्यानास गरेका थिए ।